सिन्धुलीमा वन अतिक्रमण ः आठ हजार हेक्टर बनमा बस्ती विकास


१६ श्रावण, २०७७
दुधौली न्यूज सम्बाददाता
दुधौली / सिन्धुलीमा काठ तस्कर र सुकुम्बासीका नाममा बन अतिक्रमण बढ्दो छ । जिल्लामा २० हजार हेक्टरभन्दा बढी वन क्षेत्र अतिक्रमण भएको छ । सिन्धुलीमा बर्षेनी वन फडानी बढ्दो छ । २७ वर्षको बीचमा २० हजार हेक्टरभन्दा बढी वन फडानी भएको पाइएको छ । समुदायलाई जिम्मा लगाइएका वन संरक्षणभन्दा विनास भइरहेका छन् । सरकारी वनमाथिको अतिक्रमण त कहालीलाग्दो अवस्थामा रहेको छ ।

               डिभिजन वन कार्यालयको पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजनाअनुसार २० हजार हेक्टरभन्दा बढी वन क्षेत्र काठ तस्कर र सुकुम्बासीका नाममा अतिक्रमण भएको तथ्याङक रहेको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले बताए । उनले भने – “रानीवास, हर्षाही, टाँडी, निपाने, दुधौली, कल्पवृक्ष, पीपलमाढीलगायत क्षेत्रमा सबैभन्दा बढी वन अतिक्रमण भएका छन् ।” अतिक्रमित वनमध्ये झन्डै आठ हजार हेक्टरमा बस्ती विकास भएको जनाइएको छ । डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठका अनुसार, रानीवास, हर्षाही, टाँडी, निपाने, दुधौली, कल्पवृक्ष, पीपलमाढीलगायत क्षेत्रमा सबैभन्दा बढी वन अतिक्रमण भएका छन् ।

                      यी क्षेत्रमा मात्र सात हजार ३२५ हेक्टर वन अतिक्रमण भएको छ । वन अतिक्रमण गरी राजनीतिक पहुँचका आधारमा सुकुम्बासीका नाममा १३ हजार ४११ घरधुरी बस्ती बसालिएको वन कार्यालयको अनुमान छ । गरिब तथा सुकुम्बासीका नाममा २०५० सालयता वन अतिक्रमण भएको पाइन्छ ।
साविक पीपलमाढीमा ४४८।२८, टाँडीमा ५५५, कल्पवृक्षमा ३२०।६९, हर्षाहीमा २६०, रानीवासमा १७८ तथा निपाने गाविसमा १७९ हेक्टर वन अतिक्रमण भएको अनुमान छ । २०५० सालसम्म जिल्लामा वनको कुल क्षेत्रफल एक लाख ६० हजार १९१ हेक्टर थियो । पछिल्लो समय वन फँडानी बढेपछि एक लाख ४० हजार हेक्टरमा झरेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।

पछिल्लो समय पनि काठ तस्कर र भूमाफियाले वन फँडानी गर्ने क्रम बढेको र आफुहरुले देखेसम्म र गुनासो आएसम्म रोक्ने प्रयास गरिरहेको प्रमुख श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!