सरकारको गति : दिनमा २.५ किलोमिटर सडक कालोपत्रे

१४ साउन, काठमाडौं । समृद्धिको पहिलो मापक मानिन्छ, देशको सार्वजनिक सडक र सार्वजनिक सवारी साधनको व्यवस्थापन । तर, नेपालमा सार्वजनिक सडकहरुको निर्माण र व्यवस्थापनको गतिलाई हेर्ने हो भने यसलाई तीव्र मान्ने या धीमा ?

गत वर्षको सडक निर्माणको तथ्यांकलाई केलाउँदा एक दिनमा औसत २.५ किलोमिटर सडक कालोपत्रे भयो । जबकि देशभर अर्बौंका सडक ठेक्काहरु लागेका छन् र हजारौं ठेकेदारहरु असारे हिलोमा समेत फिल्डमै छन् ।

तथ्यांक अनुसार सडक ग्राभल गर्ने काम पनि औसत दैनिक २.८७ किलोमिटर हुने गरेको छ । नयाँ ट्रयाक खोल्ने काम औसत एक दिनमा ८६३ मिटर मात्रै हुन्छ ।

कतिपय राजमार्गमा तोकिएको वार्षिक बजेटभन्दा बढी रकम खर्चेर पनि सडक विभागले लक्ष्यअनुरुप सडक मार्गहरुमा काम गर्न नसकेको सरकारी अधिकारीहरु स्वीकार्छन् । एक वर्षका बीचमा विभागले ९१५ किलोमिटर सडक कालोपत्रे गरेको सडक विभागका निमित्त महानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए ।

विभागले आर्थिक वर्ष ०७५/७६ मा १०५० किलोमिटर सडक खण्डमा ग्राभेल बिछ्याएको छ । यसमा प्रदेश तथा स्थानीय तहले गरेको निर्माण कार्यको हिस्सा जोडिएको छैन ।

सडक विभागका निमित्त महानिर्देशक सापकोटाका अनुसार गत एक वर्ष ३१५ किलोमिटर नयाँ सडक ट्रयाक खोलिएको छ । विगतका वर्षहरुमा भन्दा गत वर्ष सडक आयोजनाहरुमा राम्रो काम भएको दाबी सापकोटाको छ ।

गत वर्ष सडक विभागले हुलाकी सडकमा १७० किलोमिटर खण्ड कालोपत्रे गरेको छ । यो सडक मार्गमा ३२५ किलोमिटर खण्डमा ग्राभेल गरिएको छ । मदन भण्डारी राजमार्गको १२७ किलोमिटर खण्ड पनि कालोपत्रे भएको छ ।

यसैगरी मध्यपहाडी लोकमार्गको १४० किलोमिटर खण्ड पिच गरिएको छ । यो लोकमार्गमा एक वर्षमा १८६ किलोमिटर खण्डमा ग्राभेल गरिएको छ ।

गत आर्थिक वर्षमा मात्रै २४३ वटा पुलहरुको निर्माण सकिएको छ । विगतका वर्षहरुमा बढीमा १२५ वटासम्म पुल बन्ने गरेकोमा यो वर्ष पुल निर्माणमा ठूलो प्रगति हात परेको निमित्त महानिर्देशक सापकोटाको दाबी छ ।

रुग्ण आयोजनाले समस्या

विभागले थुप्रै आयोजनाहरु समस्यामा रहेपनि धेरैजसो आयोजनामा प्रगति सन्तोषजनक रहेको दावी गरेको छ । सडक तथा पुलका आयोजनाहरुमा बजेटरी समस्या नै धेरै रहेको भन्दै विभागले ठेकेदारको लापरवाही पनि आयोजना अल्झिनुको मुख्य कारक बनेको बताएको छ ।

सरकारले धेरै समस्या भोगिरहेका रुग्ण आयोजनाहरुमा ठेकेदारको लापरवाही नै मुख्य कारण रहेको भन्दै निमित्त महानिर्देशक सापकोटाले सडक आयोजनालाई सम्पन्न गर्ने विषयमा यो वर्षबाट बजेटको ठूलो समस्या नहुने बताए ।

‘समय, लागत र बजेटका कारण नै बढीजसो आयोजनाहरुमा समस्या देखिने गरेका छन्,’ सापकोटाले भने, ‘यी समस्याहरु हल हुन सके सडक आयोजनाहरुमा समस्या घटाउन सकिन्छ ।’

गत वर्ष साढे ५ अर्ब रुपैयाँ बजेट भएको मध्यपहाडी लोकमार्गमा ११ अर्ब रकम खर्च भएको उदाहरण दिँदै उनले बजेटको समस्या नहुने हो भने पनि अहिलेको भन्दा धेरै काम गर्न सकिने बताए ।

तर, यसपटक तुलनात्मकरुपमा गत वर्षभन्दा धेरै बजेट सडक मार्गका लागि छुट्टिएकाले बजेटरी समस्या घट्ने विभागको भनाइ छ । यसकै कारण गत वर्षभन्दा यस वर्ष धेरै काम र प्रतिफल दिन सकिने सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!