नीति तथा कार्यक्रममा स्वस्थ्यलाई प्रथमिकता

दुधौली न्युज सम्बाददाता
२१ असार,आईतवार
दुधौली / सिन्धुलीको दुधौली नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजानिक गर्दे १ अर्ब २ करोड ५४ लाख ३९ हजार १ सय ६३ रुपैयाको बजेट ल्याएको छ । यो वर्ष स्वस्थ्यलाई प्रमुख प्राथमिकता दिएर दुधौली नगरपालिकाले बजेट सार्वजनिक गरेको छ । कोरोना भाईरसको माहामारी भएकाले पनि यस वर्ष स्वस्थ्यलाई प्रमुख प्रथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाका नगर प्रमुख घनश्याम राउतले बताउनु भयोे ।

               दुधौली नगरपालिकाको पहिलो प्राथमिकता स्वास्थ्य रहेको र त्यसपछि क्रमसः शिक्षा क्षेत्रको सुधार कृषि, पशु विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माण रहेको जानकारी दिदै पूर्वाधार निर्माणलाई अलिपछि धकेलेको बताउनुभयो । नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि समेत नीति ल्याएको छ । नगर प्रमुख राउतले स्वास्थ्यकर्मीलाई थप प्रोत्साहन भत्ताको व्यवस्था गरेका पनि बताउनु भयो । कोरोना भाईरसको नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको सुरक्षा गर्न र प्रोत्साहन गर्न दुधौली नगरपालिका कटिबद्ध भएको समेत उहाँले बताउनु भएको हो । दुधौली नगरपालिका सगैँ सिन्धुलीका ९ ओटौ स्थानिय तहहरुले यो वर्ष समयमै नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

            सबै स्थानिय तहहरुले यो वर्ष कोरोना भाईरसको महामारीलाई नियन्त्रण गर्न स्वस्थ्य क्षेत्रनै प्राथमिकतामा राखेका छन् । बिगतका बर्षमा नीति तथा कार्यक्रम र बजेटमा भौतिक पूर्वाधार निर्माणमा जोड दिएका स्थानीय तहले यस पटकको भने बजेटमा पहिलो प्राथमिकता स्वास्थ्यलाई दिई बजेट ल्याएका छन् । कोरोना संक्रमण तथा व्यवस्थापन र उपचारमा स्वास्थ्यको बजेट केन्द्रीत हुने गरि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । त्यस्तै रोजगारी, कृषि, पशुपालन, शिक्षा, पूर्वाधार लगाएतका क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेका छन ।
सिन्धुलीको कमलामाई नगरपालिकाले नगरसभामा नीति तथा कार्यक्रमसँगै एक अर्ब १६ करोड ४७ लाख १२ हजार ६ सय ६० रुपैया बजेट प्रस्तुत गरेको छ । कमलामाईले कृषि, स्वास्थ्य, शिक्षा, र विकास निर्माणलाई लक्षित गरि बजेट विनियोजन गरेको सुचना अधिकारी सागर कुमार ढकालले जानकारी दिनुभयो ।

                    उता तीनपाटन गाँउपालिकाले भने नीति तथा कार्यक्रमसँगै ६२ करोड ६८ लाख रुपैयाको बजेट सार्बजनिक गरेको छ । स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण, शिक्षा र रोजगारी सिर्जना प्राथमिकतामा राखेको छ । गोलन्जोर गाँउपालिकाले पनि गाँउसभामा पेस गरेको नीति तथा कार्यक्रमसँगै ४५ करोड, ४७ लाख छ हजार रुपैयाको बजेट सार्बजनिक गरेको छ । गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीका अनुसार उक्त गाँउपालिकाले भने प्रमुख प्राथमिकतामा विपद व्यवस्थापनलाई राखेको छ । त्यसपछि क्रमसः शिक्षा, स्वास्थय, सडक, खानेपानी र गौरबको आयोजनालाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । गोलन्जोर गाँउपालिकाले गौरबको आयोजनाको रुपमा सुनकोसी ¥याफ्टिङ र लिफ्ट सिंचाई योजनालाई अघि सारेको छ ।

घ्याङलेख गाँउपालिकाले नीति तथा कार्यक्रमसँगै ३२ करोड ६४ लाख रुपैयाको बजेट गाँउसभामा प्रस्तुत गरेको छ । गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले स्वास्थ्य, कृषि, शिक्षा र रोजगारी सिर्जना प्रमुख प्राथमिकतामा राखेर गाँउपालिकाले यो बर्ष बजेट बिनियोजन गरेको छ । हरिहरपुरगढी गाँउपालिकाका प्रमुख कार्साङ लामाले नीति तथा कार्यक्रमसँगै ४५ करोड रुपैया बजेट सार्बजनिक गरेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले पनि उत्पादन र रोजगारीलाई जोड दिई कृषि, स्वास्थ्य, पशुपालन, रोजगारी र विकास निर्माणलाई प्राथमिकता दिएर बजेट आएको छ ।

मरिण गाँउपालिकाले नीति तथा कार्यक्रमसँगै ४८ करोड ४२ लाख ८३ हजार रुपैयाको बजेट सार्बजनिक गरेको गाँउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो । फिक्कल गाउँपालिकाले गाँउसभामा नीति तथा कार्यक्रमसँगै ३४ करोड ९५ लाख रुपैयाको बजेट प्रस्तुत गर्दै स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण, पर्यटनलाई प्राथमिकता दिएको गाउँपालिकाका प्रवक्ता राजु बरालले जानकारी दिनुभयो । सुनकोशी गाउँपालिकाले ४० करोडको हाराहारीमा बजेट ल्याएको छ । गाउँपालिकाले पेश गरेको नीति तथा कार्यक्रममा बजेटमा कृषि, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारलाई प्राथमिकतामा राखिएको छ । सम्पुर्ण स्थानिय तहहरुले नीति तथा कार्यक्रम र बजेट सार्बजनिक गर्नुका साथै नगर तथा गाँउसभामा छलफल गरेर पास गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!