दुधौलीका पशुहरुमा पनि देखियो अचम्मको रोग

२५ श्रावण, २०७७
दुधौली न्यूज / रोहित कुमार गुरुङ –

दुधौली / पछिल्लो समय गाईगोरु तथा पशुहरुमा देखा परेको अचम्मको रोग सिन्धुलीको दुधौलीमा पनि देखा पर्न थालेको छ । अफ्रिकन रोग भनेर नामाकरण गरिएको लम्पी स्क्रिन डिजिज नामक भाईरस दुधौली नगरपालिकाको वडा नम्बर ४, ५, ११ र अन्य वडाहरुमा समेत देखा पर्न थालेको स्थानिय किसानहरुको गुनासो आउन थालेको छ ।

केहि महिना अघिमात्र दुधौली नगरपालिका वडा नम्बर ५ कुनाहीमा राम बहादुर मगर, पाखाटोल स्थित रामजी बुढाथोकीको गोठमा र ५ कै कुलवाका टेक बहादुर तामाङको गोठमा रहेको गाईगोरु र बाछा बाछिहरुमा यो रोग देखा परेको थियो । त्यसको केहि दिनमा दुधौली ४ का रबिलाल अधिकारीको र डुँडा गाउँमा रहेका अन्य किसानहरुको गाइगोठमा पनि यो रोग देखा परेको दुधौली नगरपालिका पशु सेवा साखाका नायब पशुस्वास्थ्य चिकित्सक नम्रजय अधिकारीले जानकारी दिए । दुधौली ४ र ५ पछि दुधौली ११ मा समेत देखा पर्न थालेको रोगलाई रोकथामको लागी अनुसन्धान तथा औषधीको प्रयोग गरेको पशुस्वास्थ्य चिकित्सक अधिकारीले बताए । यो सरुवा भाईरल रोग भएकोले किसानहरु समय मै सजग नभए नगर भरी माहामारीको रुप फैलिन सक्ने उनको तर्क रहेको छ ।

                 संक्रमण देखिएका गाईगोरुहरुको छाला तथा कल्चौडामा डावर आउने, खानेकुरा नखाने, नाकबाट सिंगान आउने, उच्च ज्वरो आउने समस्या देखिएको पशुस्वास्थ्य चिकित्सक नम्रजय अधिकारीले जानकारी दिए । वर्षा लागेको बेला यो रोग त्यति देखिने भएपनि झापा र चितवन पछि दुधौलीमा पहिलो पटक यस्तो समस्या देखिएको उनको भनाई छ । ‘ बिशेष गरी गाईगोरुमा यस्तो समस्या नेपालमा पहिलो देखिएको हो, अफ्रिकन मुलुकमा देखिएको यो रोग बङ्लादेश हुदै नेपालमा झापाबाट सुरुवात भएको पशु चिकित्सकहरुको भनाई रहेको छ ।
दुधौली नगरपालिकामा अत्याधिक रुपमा नफैलिए पनि यसको संख्या बढ्न सक्ने उनीहरुको तर्क छ । हाल मानव जीबनमा बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना जस्तै यो भाईरसको उपचार नहुने भएकाले गोठ सफा सुग्घर राख्नुपर्ने पशुस्वस्थ्य चिकित्सक अधिकारीको सुझाव छ । भाईरसका कारण संक्रमण देखिएका गाईहरुलाई छुट्टै राख्न समेत उनको आग्रह छ । यो रोग गाईवस्तुमा लाग्ने उपियाँ, जुम्रा, लामखुट्टे जस्तै परजिवी किराहरुबाट सर्ने भएको कारण एक पशुमा लगाएको सुई समेत अर्काे पशुहरुमा प्रयोग नगर्न समेत पशु चिकित्सकहरुले आग्रह गरेका छन् ।

               दुधौली नगरपालिकामा संक्रमण फैलिने जोखिम रहेपछि दुधौली पशुसेवा साखाले स्थानिय सरकार र जिल्ला संग समन्वय गरी नमुना संकलन गरेर परिक्षणका लागि पठाउने तयार भएको छ । नगरका विभिन्न किसान स्थानबाट सबैले नमुना संकलन गरिने र जनचेतना मूलक कार्यक्रमहरु गर्ने तयारी गरेकोे दुधौली पशुस्वस्थ्य साखा प्रमुख सुन्तला कुमारी बस्नेतले बताईन् । पशुहरुको रगत १७, सिंगान १५ र पिप गरी ३ वटा नमुना संकलन गरेर केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाउनु पर्ने हुनाले यो कार्य अलि कठिन रहेको साखा प्रमुख बस्नेतले बताईन् ।

                यो रोगका कारण अहिलेसम्म गाईवस्तुको मृत्यु नभएपनि संक्रमण व्यापक र जटिल बन्दै जान सक्ने भएकोले आफ्नो गोठ तथा घर छेउमा सफा सुग्घर राख्न र सम्बन्धित पशु चिकित्सकको सल्लाह लिन पशुचिकित्सकहरुले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!