तिनपाटनको बेलघारी बजार उच्च जेखिममा

११ श्रावण, २०७७
दुधौली न्यूज सम्बाददाता
दुधौली / सिन्धुलीको तिनपाटन गाउँपालिका स्थित चँदाह खोलामा आएको बाढीले पचासौँ विगाहा खेतियोग्य जमिन कटान गरेको छ । बाढीका कारण तिनपाटनको बेलघारी बजार उच्च जेखिममा छ । अविरल वर्षासगैँ चदाँह खोलामा आएको बाढीका कारण तीनपाटन गाउँपालिका वडा नं. १ बेलघारीस्थित चन्द्रावती मा. वि. र वडा नं. १ को वडा कार्यालय सहित झण्डै एकसय घर जोखिममा परेको हो ।

तिनपाटन गाउँपालिकाकी उपाध्यक्ष पदम माया तामाङका अनुसार चँदाह खोलामा आएको बाढीले सो स्थानका पचासौँ विगाहा खेतियोग्य जमिन कटान गरेको छ । ‘अब कटान गर्न बाँकी जमिन दुई सय मिटर मात्र रहेको र त्यसपश्चात् खोला सिधै बजारमा पस्ने खतरा बढेको छ,’ उहाँले भन्नुभयो । चँदाह खोलाका कारण सिंगो बजारनै जोखिममा परेपछि गाउँपालिकामा नदि कटान नियन्त्रणका लागि आग्रह गरिएको उक्त वडाका वडाअध्यक्ष गोविन्द बहादुर राउतले बताउनुभयो । तर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसमक्ष तत्काल रोकथामको माग गरिएको भए पनि अहिले सम्म कुनै पहल नभएको उहाँले गुनासो गर्नुभयो । ‘स्काभेटरको प्रयोग गरी खोलालाई तत्काल नियन्त्रण गर्न बाँसको अस्थाइ जाली तयारका लागि पाँच हजार थान बोरा, पचास वटा लाइलन जाली माग गरेका छौँ, हुदैन भन्नुभएको छैन तर काम पनि केही भएको छैन,’ वडा अध्यक्ष राउतले भन्नुभयो ।

यस विषयमा गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापामगरले भने चँदाह खोलाले निम्त्याएको जोखिमलाई ध्यानमा राख्दै न्युनिकरणका लागि आफ्नो र गाउँपालिकाको तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्थलगत अनुगमन पश्चात तत्काल रोकथामको लागि त्यहा ठूलो स्काभेटरको प्रयोग गरि खोला डाइभर्सन गर्नु भन्दा अन्य उपाय छैन । त्यसका लागि मैले व्यक्तिगत तर्पmबाट र गाउँपालिकाबाट गर्नुपर्ने आवश्यक पहल गरिरहेको छु ।’ खोलाको कटान नियन्त्रणका लागि प्राविधिक सहितको टोलीले स्थलगत अनुगमन गरी स्टमेट बनाएको र विपद् व्यवस्थापन कोषमार्फत रक व्यवस्थापन गरेर काम थलिएको उहाँको भनाई छ ।

          यस्तै वडा नं. ११ परासेको मोहन श्रेष्ठ र देवीलाल श्रेष्ठको घरमा पहिरोले पूर्ण क्षति पु¥याएको छ । लगातारको वर्षाका कारण गाउँपालिकाका सबै वडाहरुमा भएको क्षेतीबारेमा अध्यनगर्न जान समेत नसकिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!