तिहारमा बजार चहल पहल

 

कार्तिक ११, दुधौली न्युज –


दुधौली /  तिहार नजिकिएसँगै सिन्धुलीका मुख्य बजारमा चहलपहल बढेको छ । प्रमुख बजारमा तिहारका सर–सामानले भरिभराउ छन्  । बजारमा तिहारका लागि लत्ताकपडा, फूलमाला, मसला, कपडा लगायतका सर–सामानको किन्नेहरूको घुइँचो लागेको छ । स्थानीय यतिबेला तिहारको किनमेलसँगै गाउँ घर सरसफाइमा जुटेका छन् ।

सिन्धुलीको हरेक बिहिवार लाग्ने दुधौली बजारमा बिहिवार निकै भिडभाड थियो । तिहारका लागि सामाग्री किनमेल गर्नेहरुको भिड थियो । दुधौली बजारमा धनकी देवी लक्ष्मीको पूजा हुने तिहारका लागि लक्ष्मी, गणेशको तस्बिर, घर सजाउनका लागि झिलिमिली बत्ती, माटोको दियो, भाइटीकाको मसलालगायतका सरसामान किन्नेको भिड बढेको थियो । ठाउँ ठाउँमा अस्थायी पसल थापेर तिहारका सामग्री बिक्री भइरहेका थिए  । यस्ता पसलले पनि तिहारको झझल्को दिएको स्थानीयको भनाइ छ । अस्थायी पसलमा राखिएको प्लास्टीकका माला,रङ, अबिर र लक्ष्मी, गणेशको तस्बिरले तिहारको रौनक बढाएको उद्योग वाणिज्य सघँ दुधौली शाखाका अध्यक्ष बृज नारायण शाहाले बताउनु भयो ।
पूजा सामग्रीसहित माटोको दियो र घर सजावटका सामग्रीसँगै खाद्यान्न, फलफूल र लत्ताकपडा खरिद गर्नेको पनि भिड बढेको छ । अन्य समय भन्दा तिहार र छठको समयमा माटोका भाडा विक्री हुने गरेको दुधौली ९ खिरियानीका कुमाले मंगला पण्डीतले बताउनु भयो । उहाँले भन्नु भयो– धेरै जसो घरमा बत्ती बाल्न दियो ल्यैजानले भएकाले माटोको दियो धेरै विक्री हुने गर्छ । तिहार लक्षित गरी सामान राखिएका पसलमा भिड बढेको स्थानिय भुपेन्द्र मगरले बताउनु भयो ।

आफ्ना दाजुभाइको लागि भाइटीका मसला र रङ किन्ने महिलाको बजारमा भिडभाड बढेको स्थानीय फेन्सी व्यवसायी उमिता कार्कीले बताउनु भयो । बदाम, काजु, ल्वाङ, सुकमेल, छोकडालगायत १२÷१५ थरीका सामान किनेर आफैँले भाइ–मसला तयार पारेर बिक्री गर्दै आएको तरकारी बजारका व्यवसायी निर्मला साहले बताउनु भयो । यस समय अन्य व्यवसाय गर्ने व्यवसायीहरुले पनि तिहारका सामाग्री विक्री गर्ने गर्छन । भाइटीकाको अघिल्लो दिनसम्म किनमेल चल्ने व्यापारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!